काठमाण्डौँ । बैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका एकसहित तीन जना रहेका छन् ।
आकर्षक तलबको लोभ देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–९ बस्ने २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ छन् ।
उनीहरुमध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४५ हजार रूपियाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार रूपियाँ र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख आठ हजार रूपियाँ लिई सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका–९ बाट र प्रभालाई ललितपुर महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।