बीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको बेथितिविरुद्ध नागरिक आन्दोलन सुरु भएको छ । पालिकामा देखिएका बेथितिविरुद्ध सचेत नागरिक समाज बहुदरमाईले आन्दोलन सुरु गरेको हो ।
विभिन्न सात बुँदे मागहरु अघि सार्दै सचेत नागरिक समाजले आन्दोलनका कार्यक्रम अघि सारेको हो । सचेत नागरिक समाज बहुदरमाईका राकेश यादवको अगुवाईमा आन्दोलनका कार्यक्रम सुरु भएको हो ।
कार्यक्रम अन्र्तगत आज बिहान १० बजेदेखि नगरपालिकाको कार्यालय अगाडी शान्तिपूर्ण धर्ना दिइएको छ ।
नागरिक समाजले कर्मचारीहरुको तलब तत्काल भुक्तानी गर, सबै वडा कार्यालय तथा विद्यालयहरुको खर्च व्यवस्थापन गरी सूचारु गर, किसानलाई चाहिने सुविधाहरु मलखाद, बिउँ, किटनाशक औषधी व्यवस्थाको लागि बजेट चलायमान गर, विद्यार्थीहरुको दिवा खाजा सूचारु गर, र परिषद्बाट पारित बजेटहरु पूनः संशोधन गर लगायतका माग उठाएका छन् ।
बहुदरमाइ नगरपालिकामा नगरसभा भएको एक महिना भन्दाबढी भइसकेको छ । तर मेयर सिंगासन साह तेलीले अझसम्म नगरसभाको निर्णय प्रमाणित गरेका छैनन् ।
जसकारण खाता सञ्चालनदेखि लिएर बजेट खर्च गर्नसमेत गुनासो व्यापक छ । मेयर तेलीको यहि मनपरीका कारण कर्मचारीहरुको तलब भत्तादेखि बिकास निर्माणका कार्यहरु समेत रोकिएका छन् ।