धनुषा । मधेस प्रदेश प्रहरीको सुरक्षा सम्न्वय बैठक सम्पन्न भएको छ । प्रदेश राजधानी जनकपुरधाममा बैठक सम्पन्न भएको हो ।
सिताराम विवाहपञ्चमी महोत्सव तथा गढीमाई मेलामा सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गर्दै प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक आयोजना गरिएको हो ।
बैठकमा स्थानीय प्रशासनले गरेको सुरक्षा व्यवस्था र योजना, मेला भर्न आउने श्रद्धालुको भीड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, निगरानी तथा सञ्चार प्रणाली, सरोकारवालासँगको समन्वय लगायतको विषयमा विगतका अनुभवको समीक्षा तथा भावी कार्ययोजनाको विषयमा गरियो ।
छलफलमा मधेस सरकारका गृहमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका अधिकारीहरुलाई प्रभावकारी ढङ्गले सुरक्षा व्यवस्थापनको प्रबन्ध मिलाउन आग्रह गरे ।
बैठकमा सुरक्षा अधिकारीले मेलामा सुरक्षाका प्रहरीले कडा रणनीति बुनेको बताएका छन् । उनीहरुका अनुसार मेलामा प्रहरीले तीन घेरा राखेर सुरक्षा व्यवस्था मिलाउने जनाए ।
यस्तै विवाहपञ्चमी महोत्सवमा मात्रै एक हजार ४ सय भन्दाबढी सुरक्षाकर्मी परिचालन हुने धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारी बताउँछन् ।
मधेश सरकारका गृहमन्त्री लेखीको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, मधेश प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोरा, प्रहरी उपरीक्षक ईश्वर थापासहितका उच्च सुरक्षा अधिकारीको सहभागिता थियो ।