धनुषा । मधेस सरकारका गृहमन्त्री राजकुमार लेखीले दाइजो प्रथा अन्त्यका सबैले प्रयास थाल्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश राजधानी जनकपुरधाममा मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यू.एन. एफ. पि. ए)को समन्वय तथा सहकार्यमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
लैङ्गिक हिंसा, दाइजो प्रथा तथा बालविवाह जस्ता सामाजिक विकृतिहरुले समाजमा नकारात्मक असर पुगेको भन्दै यसलाई अन्त्यका लागि सबैले प्रयास थाल्नुपर्ने उनको भनाइ छ ।
लैङ्गिक समानतासहित हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षले आ–आफनो ठाउँवाट भूमिका निर्वाह गर्नुपर्ने औल्याए ।
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा यस्ता विकृतिले जरा गाडेको बताउँदै मन्त्री लेखीले यो विकृति अन्त्य गर्न एक्लैले नसक्ने प्रस्ट्याए । उनी भन्छन्, ‘मधेशमा जरैदेखि निर्मूल गर्नुपर्ने विकृतिहरु प्रशस्त छन्, त्यसका लागि प्रहरी प्रशासन र जनप्रतिनिधिको भूमिका महत्वपुर्ण भएको हुन्छ । समाजमा यस्ता विकृतिहरु भइरहेको देखेपछि सरोकारवाला पक्षहरु एकअर्कामा हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’