बीरगन्ज । सेवाग्राहीहरुलाई दुख हैरानी दिने १८ जना विचौलियाहरु पर्साबाट पक्राउ परेका छन् । बसपार्क एरिया तथा यातायातद कार्यालय बीरगन्जमा काम गराउन गएका सेवाग्राहीहरुलाई दुख हैरानी दिने १८ जना विचौलियाहरु पक्राउ परेका हुन् ।
बीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क एरियामा यात्रुहरुलाई दुख दिने तथा यातायात कार्यालय पर्सामा छिटो छरितो काम गराइदिन्छु भन्दै वार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनाधिकृत रुपमा प्रवेश गरी काम मिलाई दिन्छुु भनी प्रलोभन देखाएर अतयधिक सेवा शुल्क लिने गरेको गुनासो प्रहरीलाई आएको थियो ।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनुगमन गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा १५ जना पर्साका, एक भारतीय, एक रौतहट तथा अर्का एक जना गोरखा जिल्लाका रहेका छन् ।
प्रहरीले बिन्दबासीनी गाउँपालिका–१ का संजिव गुप्ता, बीरगन्ज–८ का बिजय साह, वडा नम्बर १० रानीघाटका बजंरगी महतो, राहुल महतो, बिजय साह, फिरोज खानलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी भारत बिहारी जिल्ला मोतिहारी बकतौराका जटाशंकर कुमार, रौतहट माधवनारायण–१ बस्ने नरेश साह सोनार, गोरखाको गोरखा नगरपालिका–९ बस्ने सुशान्त कुँवरलाई पक्राउ गरेको डिएसपी लम्सालको भनाइ छ ।
यस्तै बीरगन्ज–१० प्रभु पटेल, वडा नम्बर १५ बस्ने सन्देश सिंह, वडा नम्बर १६ का बिकास पटेल, वडा नम्बर ११ का जयपुजन ठाकुर, मनिष महतो, चन्दन कुमार चौरसिया, सन्तोष महतो, वडा नम्बर १४ का इद मियाँ धोबी र बीरगन्ज–११ का सुरज भगत मालीसमेतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसनधान कार्य भइरहेको प्रहरीले बतायो ।