बीरगन्ज । बीरगन्जबाट सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही निवासी २८ वर्षका जयप्रकाश कुमार सोनार रहेका छन् ।
प्रहरीले उनलाई बीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडस्थित सानिमा बैंकको अगाडीको सडकखण्डबाट पक्राउ गरेको हो ।
अवैध रुपमा सुन भित्रिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंकास्पद रुपले आउदौ गरेको ना ६२ प २७०५ नम्बरको निलो एफजेड मोटरसाइकलमा सवार उनलाई रोकेर जाँच गरेको थियो ।
सोही क्रममा जयप्रकाशले लगाएको कालो जिन्स पाइन्टको दाहिनेपट्टीको खल्तीबाट सुन बरामद भएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए । उनको साथबाट कागजमा बेरिएको सुन जस्तो देखिने पहेँलो धातु १०७ ग्राम ८९ मिलीग्राम फेला पारेको उनी बताउँछन् ।
उक्त सुनको आजको बजार भाउ १३ लाख ८८ हजार ४३६ रुपैँया रहेको प्रहरीको भनाइ छ ।
सुनसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।