रौतहट । आमा छोराको हत्या गरी फरार भएका एक जनालाई रौतहट प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजनालाई घटनाको ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ छतौना निवासी ४८ वर्षका महमद जनिफ रहेका छन् ।
दुर्गाभगवती गाउँपालिका पिपरा बजारमा लुकिछिपी बसेको अवस्थाबाट उनलाई पक्राउ गरी कर्तव्य ज्यान कसुर सम्बन्धी मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दुर्गाभगवती– ४ बस्ने समरुदिन मियाँ कवारीकी श्रीमती हुस्नेयारा खातुन र उनका छोरा रेहानको २०७७ वैशाख ११ गते राति हत्या गरिएको थियो । उनीहरुको हत्यापछि जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा शव फालेर फरार भएका रौतहट प्रहरीका डिएसपी दीपक कुमार रायले बताए ।
उक्त स्थानबाट ३०० मिटरको दुरीमा छोरा रेहानको कङ्काल अर्थात् टाउको फेला पारेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्नलाई खोज तलास गर्ने क्रममा अदालतबाट सजाय पाएपश्चात फरार भएका थिए ।