सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालिन नगरप्रमुखसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
नगरप्रमुख गङ्गा पासवान र प्रमुख प्रशासकिय अधिकृत जगदिश मण्डलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतले उनीहरूलाई कात्तिक ३० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
अदालतले उनीहरूलाई २१ लाख ६० हजार बिगो र जरिवाना र २ वर्ष ६ महिना कैद र जरिवाना हुने फैसला सुनाएको छ । न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई सजाय तोकेको हो ।
तत्कालिन मेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादव समेतलाई बिगो र जरिवाना गरी ४३ लाख ठहर गरेको हो ।
अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८÷७९ मा प्रशासनिक भवन निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
भवन निर्माणमा भ्रष्टाचार भएको भनी उच्च अदालत राजविराजमा सुरुमा रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै उच्चले अघि नबढाउन आदेश गरेको थियो । तर उक्त आदेशलाई अटेर गर्दै मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले अनुसन्धान पछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए ।