धनुषा । १३ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा जनकपरधामका चार उद्योगलाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले दिवसको अवसरमा चार उद्योगलाई सम्मानित गरेको हो ।
सो अवसरमा नेपाल भेनियर उद्योग सर्लाही, क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी र सुनिता आयल सेन्टर सिन्धुलीलाई सम्मान गरेको हो ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्ने बताए । मधेस प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार र करदाता आपसी मित्रवत् व्यवहारबाट कर सङ्कलन गर्नुपर्ने बताए ।
जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएको भन्दै समयमा कर बुझाउन आग्रह गरे ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका कोषाअध्यक्ष परमेश्वर साहले प्रत्येक वर्ष सरकारले कर बढाउँदा व्यवसायी तथा उद्योगी मारमा पर्ने गरेको गुनासो गरे ।