महोत्तरी । सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले महोत्तरीका एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष देवेन्द्र चौधरी रहेका छन् ।
फरार सूचीमा रहेका अध्यक्ष चौधरीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनलाई मंगलबार अदालतमा उपस्थित गराइएर म्याद थप गरिएको डिएसपी सन्तुलालप्रसाद जैसवारले बताए ।
सोमबार क्याम्पसमा बैठक चलिरहेको बेला सादा पोशाकमा गएका प्रहरीले चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका अध्यक्ष चौधरीमाथि असई थमन विक हत्या र विभिन्न प्रहरी चौकीहरुमा आगजनीको मुद्दा छ ।
जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते फैसला गर्दै तराई मधेश आन्दोलनको क्रममा हत्या गरिएको सशस्त्र प्रहरीका असई विकको हत्या घटनामा दुई जनालाई सफाइ र सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
तत्कालीन महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र थमन विकको हत्या आरोपमा पक्राउ परी पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिएका थिए । साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाइएको थियो ।
विक हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशङ्कर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला भएको थियो भने हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जयकुमार साहलाई जन्मकैदको फैसला सुनाइसकेको छ ।