वीरगन्ज । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्तारुढ दलहरूको प्रयासको विपक्षी गठबन्धनले सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।
आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले कांग्रेस र एमालेको कदमलाई ‘विपक्षीमाथिको आक्रमण’ भन्दै सदन र सडक दुवैबाट विरोध गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले यो कदम संवैधानिक परिषद्मा बहुमत जुटाउनका लागि चालिएको भन्दै त्यसको कडा विरोध गर्ने सहमति गरेका छन्। पाण्डेले ‘विपक्षीमाथि भएको आक्रमण को सशक्त प्रतिवाद गरिने र यो विषय भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पनि उठाइने जानकारी दिए।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार निरंकुशतावादतर्फ अग्रसर भएको र विपक्षीको घाँटी निमोठ्नेगरी अघि बढेको आरोप लगाएका थिए।
यसैबीच, उपसभामुख हटाउने तयारीस्वरूप नेकपा एमालेले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। एमालेले मोबाइल सन्देशमार्फत उपत्यका बाहिर रहेका सांसदहरूलाई तत्काल फर्कन र उपत्यकाभित्र रहेका सांसदहरूलाई कतै नजान भनेको छ।
उपसभामुखविरुद्ध महाभियोग लगाउन कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन्। तर, कांग्रेसभित्रकै शेखर कोइराला पक्षका सांसदहरूले भने यस अभियानमा हस्ताक्षर गर्न अस्वीकार गरेको बताइएको छ।
यो घटनाक्रमले अबको राजनीतिमा सत्तारुढ र विपक्षी दलहरूबीचको दूरी थप बढ्ने देखिएको छ।